नगर स्वास्थ्य सुशासन सुदृढीकरण सम्बन्धी प्रादेशिक नीति संवाद

नेपाल नगरपालिका संघको आयोजना तथा GIZ नेपालको सहकार्यमा “बहुक्षेत्रीय समन्वयमार्फत नगर स्वास्थ्य सुशासन सुदृढीकरण” विषयक प्रादेशिक नीति संवाद कार्यक्रम २०८३ भदौ २४ गते लुम्बिनी प्रदेशको नेपालगञ्जमा सम्पन्न भएको छ।संघका महासचिव एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, प्रदेश स्वास्थ्य मन्त्रालय सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य निर्देशनालयका प्रतिनिधि, GIZ का प्रतिनिधि तथा स्वास्थ्य विज्ञहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वय, नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य सेवा, स्वास्थ्य सुशासनका चुनौती तथा सुधारका उपायहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले स्वास्थ्य संस्थाहरूमा दरबन्दीअनुसार आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य नीति तथा ऐनहरूको प्रभावकारी कार्यान्वयन, तथ्यांकमा आधारित योजना तथा बजेट निर्माण, सामाजिक परीक्षण तथा पारदर्शिता र जवाफदेहिता अभिवृद्धिमा जोड दिनु भएको थियो।

छलफलका क्रममा स्वास्थ्य क्षेत्रको नक्साङ्कन गरी सेवा प्रवाहको अवस्था, स्रोत साधनको उपलब्धता तथा सेवाको गुणस्तरको नियमित मूल्याङ्कन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो। सहभागीहरूले मातृ तथा बाल स्वास्थ्य, पोषण तथा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका थिए।


नगर स्वास्थ्य योजना कार्यान्वयनमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशिकरण र लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अभ्यासहरुको आपसी सिकाई कार्यशाला सम्पन्न